Comments Add Comment

फाल्गुनन्दका ४६ जना महिलालाई ढाका बुनाई तालिम

 

मनोज थापा

पाँचथरः फाल्गुनन्द गाउँपालिकामा “सिप सिकौं,उद्यम गरौं,आत्मनिर्भर बनौं”  भन्ने नारासहित आधारभूत ढाका बुनाई सम्बन्धी पहिलो चरणको तालिम सम्पन्न गरिएको छ

गरिबी निवारणका लागि लघुउद्यम विकाश कार्यक्रम (मेडपा)अन्तर्गत पालिकाको १० लाख रुपैंया आर्थिक सहयोगमा पिरामिड टेक्निकल इन्स्टिच्युट,इलामको तर्फबाट प्रशिक्षक फुल कुमारी महतोले तालिमको सहजीकरण गरेकी छिन् ।

पालिकाले महिलाको सिप विकाश गर्न तालिम दिदै घरैमा स्वरोजगार बनाउने उदेश्यले जम्मा ४६ जना महिलालाई प्रशिक्षण गराइरहेको छ । पहिलो चरणमा ३० जना महिलाले करीब डेढ महिनाको तालिम शुक्रबार सम्पन्न गरेका छन् भने दोस्रो चरणमा १६ जनालाई तालिम गराइरहेको छ ।

यसअघि सीप सिकेर पालिका भित्रका केही महिलाले सानो तिनो उद्योग संचालनमा ल्याएसंगै यस वर्षपनि उक्त तालिम नयाँ उद्यमी सिर्जना तर्फ वडा नम्बर ४ को चिलिङदेनमा आयोजना गरिएको छ । दोस्रो चरणको तालिम सम्पन्न भएपछि सबै सहभागीलाई प्रविधि हस्तान्तरण गरिने पालिकाका मेडपा फोकल पर्सन बिचारसिं लावतीले जानकारी दिए । तालिमबाट रुमाल,चोली,खदा,सल,कुर्ता,मजेत्रो लगायतका सामग्री तयार गर्न सक्ने सिप सिकेको बताउँदै सहभागी तर्फबाट संगीता योङ्हाङले समापनमा मन्तव्य राखेकी थिइन् ।

पहिलो चरणको समापन कार्यक्रम आयोजक संस्थाका प्रतिनिधि हेमन्त गौतमको अध्यक्षतामा पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको छ ।

लक्षित वर्गका जनताको समृद्धिका लागि फाल्गुनन्दमा छरिएर रहेका परम्परागत सीप,स्थानीय स्रोत साधनको पहिचान गरी लघु घरेलु तथा साना उद्योगको स्थापना तथा स्तरोन्नति गर्दै थप रोजगारीको श्रृजना गर्ने लक्ष्य रहेको अतिथि तुम्रोकले मन्तव्यसहित सहभागीलाई समापनमा बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा उनले विपन्न वर्गका समुदायका मानिसको जीवनस्तर सुधार गर्न पालिकाले आगामी दिनमा निरन्तर कदम चाल्ने बताए । समापनमा नम्बर ४ वडाका अध्यक्ष दल बहादुर नेम्बाङ,नवनिर्वाचित जनप्रतिनिधिहरु,स्थानीय बुद्धिजीवी,पालिकाका कर्मचारी लगायतको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ