रमेश थापा
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका वडा नं.—१ मा रहेको सावा खोलाको बिवाद टुङगिएको छ । पक्की पुल निर्माण गर्दै आएको निर्माण पक्ष र जग्गादाताहरु बीच सहमती भएसंगै बिवाद टुङगिएको हो । सडक निर्माणको क्रममा पुल आसपासको जग्गामा क्षति हुने भन्दै स्थानीयले सडक निर्माणमा अवरोध गरेका थिए । लामो समयको बिवाद पछि निर्माण पक्ष र स्थानीयको सहमती अनुसार क्षतिपूर्ति र भत्किएको खेत बनाउने सहमतीपछि बिवाद टुङगो लागेको हो ।
कुम्मायक र तुम्बेवा गाउँपालिका—१ मा निर्माण हुदै आएको पक्की पुल निर्माणको क्रममा स्थानीयले अवरोध गरेका थिए । लामो समयको अवरोधपछि कुम्मायक गाउँपालिकाले दुबै पक्ष वीचको छलफल अघि बढाएको थियो । निर्माण कम्पनीले स्थानीयको माग सम्बोधन गरेपछि समस्या समाधान भएको पूर्वाधार विकास कार्यालय पाँचथरका इन्जिनियर निर्मल कोइरालाले बताए ।
पूर्वाधार विकास कार्यालय पाँचथरले मैनाचुली निर्माण सेवालाई २०७६ असोजमा ६ करोड ४० लाख ५८ हजार ४ सय ४६ रुपैयाा ठेक्का दिएको थियो । ४० मिटर लम्बाइ भएको पुल निर्माणको काम पूरा गरेको निर्माण कम्पनीले दुबै तर्फको सडक अवरोधका कारण अघि बढाउन सकेको थिएन । तर सहमती जुटेसंगै योजनाको काम सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ ।
.png)