पाँचथर, २४ वैशाख
पाँचथरको याङवरक गाउँपालिकामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
आज भएको दुर्घटनामा घाइते हुनेमा पाँचथरको फिदिम नगरपालिका-१ का ५० वर्षीय वीरेन्द्र चेम्जोङ र फिदिम-१ कै टंक ढकाल रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
घाइतेमध्ये चेम्जोङको दाहिने हातको औँला भाँचिनुका साथै खुट्टामा चोट लागेको छ। ढकालको अवस्था भने सामान्य रहेको छ।
दुवै मोटरसाइकल प्रहरी चौकी गणेशचोकले नियन्त्रणमा लिएको छ। घाइते दुवैको पाँचथर अस्पतालमा उपचार भइरहेको छ।
.png)