पाँचथर-पूर्व शिक्षक भीमकुमार सेलिङको शिक्षा संस्मरण विमोचन गरिएको छ । शिक्षा अभियन्ता भीमकुमार सेलिङ्को शिक्षा संस्मरण कृति “शिक्षामा चौवालीस वर्ष” एक कार्यक्रम बीच यलखिम् ललितपुरमा विमोचन गरिएको हो । माननीय स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ्को प्रमुख आथित्यमा विमोचित उक्त कृतिप्रति समीक्षा तथा शुभकामना समेत व्यक्त गरिएको थियो ।
पाँचथरको याङ्वारक गाउँपालिका ओयाम निवासी चौह्रत्तर वर्षिय लेखक भीमकुमार सेलिङ्ले उक्त कृतिमा आफ्नो चौवासिल वर्षे शिक्षक जीवन तथा शैक्षिक अभियानको ऐतिहासिक संस्मरण प्रस्तुत गर्नुभएको थियो । कृतिको विमोचन गर्दै प्रमुख अतिथि राज्यमन्त्री खापुङ्ले नेपालको हरेक परिवर्तनमा शिक्षकहरूको महत्त्वपूर्ण ऐतिहासिक भूमिका र योगदान रहेको चर्चा गर्दै लेखकको यस कृतिले पाँचथर ओयामको त्यस्तै योगदानको ऐतिहासिक अभिलेख राखेको बताउनुभयो ।
कार्यक्रममा समीक्षात्मक टिप्पणी राख्दै युवा कवि स्वप्निल स्मृतिले सेलिङ्को सो आत्मसंस्मरण कुनै बनावटी साहित्य नभई यथार्थ भोगाइ र योगदानको सही अभिलेख भएको बताउनुभयो । कृतिप्रति शुभकामना मन्तव्य राख्ने क्रममा रङ्गवादी साहित्यकार तथा याक्थुङ लेखक संघका सल्लाहकार धर्मेन्द्र विक्रम नेम्बाङ्ले उक्त कृति शैक्षिक जगतको सबाल्र्टन आवाज र अभिलेख भएको बताउनुभयो । सोही कार्यक्रममा आफ्नो विचार राख्दै मदन पुरस्कार विजेता तथा आदिवासी जनजाति लेखक महासंघका अध्यक्ष राजन मुकारुङ्ले यस्तै सिमान्त क्षेत्र र पक्षका कृतिले मात्र नेपालको वास्तविक शैक्षिक इतिहास र अवस्थाको प्रतिविम्ब उत्तार्दै सही दिशानिर्देश समेत गर्ने दावी गर्नुभयो । अर्का मदन पुरस्कार विजेता पूर्व प्र.जि.अ. भगिराज इङ्नामले यो कृति एक जीवन्त सुब्बा परिवारको कृति भएकाले यसले लिम्बु सुब्बाप्रथा र परिवारको यथार्थ चित्रण समेत गर्न सकेको बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरीका एसएसपी चन्द्रकुबेर खापुङ् र पूर्वउपरथी होमकुमार लावतीले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कृतिका प्रकाशक ओयाम सरोकार समाज, काठमाडौँको आयोजना र अध्यक्ष खिम सेलिङ्को अध्यक्षता तथा उपाध्यक्ष सर्मिला न्यौपानेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिव विष्णु शंकरले गर्नुभएको थियो ।
.png)