रमेश थापा
पाँचथर- नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर प्रेस युनियन पाँचथर शाखाले पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर शनिबार सम्पन्न गरेको छ। दिनरात ल्यापटप र कम्प्यूटरमा काम गर्नेक्रममा आँखामा समस्या निम्तिरहेका पत्रकारलाई लक्षित गर्दै प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा शनिबार निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरिएको हो।
प्रेस युनियन पाँचथरले पाँचथर चश्मा घर तथा पाँचथर आँखा क्लिनिकको केन्द्रसँगको सहकार्यमा पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरेको हो। शिविरमा ४८ जनाले आँखा जाँच गराएका छन् । त्यसमध्ये १० पत्रकारलाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार चस्मा वितरण गरिएको प्रेस युनियनका पाँचथरले जनाएको छ।
‘हामी पत्रकारहरु चौबिसै घण्टा कम्प्युटर र मोवाइलमा समाचार लेख्न व्यास्त रहन्छौँ जसका कारण आँखामा विभिन्न समस्या निम्तिरहेको छ,’ प्रेस युनियन पाँचथरका अध्यक्ष खबिन लुइटेलले आँखा शिविर गर्नुको उद्देशय प्रष्ट पार्दै भने ‘हाम्रो आँखाको स्थिति वारे बुझ्ने र आवश्यक सुरक्षाको प्रवन्धका लागि आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम आयोजना गरेका हौँ ।’
शनिबारको शिविरमा जाँच गर्न आएका अधिकांश पत्रकारहरुमा आँखा सुख्खा हुने र एलर्जीको समस्या देखिको डा. पंकज चौधरीले बताए। ‘कम्युटरमा धेरै समय काम गर्ने भएकाले पनि होला उहाँहरूमा आँखामा हुने सुख्खापन धेरै नै छ’, उनले भने ।
शिविरमा नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले पनि आँखा जँचाएका थिए। आँखा शिविरमा पत्रकारहरुको उल्लेख्य सहभागिता थियो।
.png)