रौतहट, २० जेठ:
राष्ट्रिय समाचार समिति (रासस) कार्यकारी अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा ‘मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार, २०८०’बाट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ रौतहट शाखाद्वारा आज गरूडामा आयोजित कार्यक्रममा उहाँ सम्मानित हुनुभएको हो।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, गरूडा नगरपालिकाका प्रमुख कन्थमनिप्रसाद जयसवाल, नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा र मनोज चौधरी स्मृति प्रतिष्ठानका अध्यक्ष एवम गरूडा नगरपालिकाका उपप्रमुख पुनम चौधरीले रासस कार्यकारी अध्यक्ष झालाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको हो । सो पुरस्कारको राशि रु २५ हजार रहेको छ ।
स्व मनोज चौधरीको सम्झनामा उहाँकी श्रीमती पुनम चौधरीले उक्त पुरस्कारको स्थापना गर्नुभएको हो । हाल उहाँ गरुडा नगरपालिकाको उपप्रमुख हुनुहुन्छ । प्रत्येक वर्ष पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान दिनुभएका सञ्चारकर्मीलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णयअनुसार रासस कार्यकारी अध्यक्ष झालाई यस वर्ष सम्मानित गरिएको हो ।
गत वर्ष उक्त पुरस्कारबाट गोरखापत्रका नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई सम्मान गरिएको थियो ।
रौतहटबाट प्रसारण हुने रेडियो मधेस मसला १०६.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा जनकपुर टुडे पत्रिकाका संवाददाता मनोजकुमार चौधरीको कोरोना सङ्क्रमणका कारण ४१ वर्षको उमेरमा नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा २०७८ वैशाख २८ गते निधन भएको थियो । उहाँको निधनपश्चात् सम्झनामा उहाँकी श्रीमती पुनमले नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको अगुवाइमा ‘मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार’को स्थापना गर्नुभएको हो ।
सम्मान कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष पोखरेलले पुरस्कारबाट सञ्चारकर्मीलाई थप ऊर्जा मिल्ने बताउनुभयो । “पत्रकारिता पेसामा शुद्धता जरूरी छ, यस क्षेत्रमा नयाँ पुस्तालाई ल्याउन आवश्यक छ”, उहाँले भन्नुभयो ।
सो अवसरमा सम्मानित व्यक्तित्व झाले सञ्चारकर्मीले पत्रकारिताको गरिमा राख्न आवश्यक भएको बताउनुभयो । पत्रकारिता निष्पक्षरुपमा गरे नगरेको बारेमा सञ्चारकर्मी स्वयमले आत्मसमिक्षा गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । “पत्रकार महासङ्घको शुद्धिकरण कार्य इमान्दारीपूर्वक सफल बनाउन सबै लागिपर्नु पर्छ”, अध्यक्ष झाले भन्नुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष खड्काले पत्रकारको पेशागत सुरक्षा र उचित पारिश्रमिकबारे धेरै अध्ययन गरेर सरकारलाई प्रतिवदन हस्तान्तरण गरेको जानकारी दिनुभयो । राज्यले सो प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिका अध्यक्ष राजेश कर्ण, मधेस मिडिया प्राधिकरणका अध्यक्ष कैलाश दास, प्रदेश समितिका महासचिव श्याम बञ्जरा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सम्मान कार्यक्रममा रासस सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी र रासस प्रशासन प्रमुख शीतलप्रसाद महतोको समेत उपस्थिति रहेको थियो । –––
.png)