Comments Add Comment

सभामुख घिमिरेसँग फ्रान्सेली राजदूत बोरबाओको भेट

काठमाडौं, २६ असार । सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले भेट गरेका छन् । 

सिंहदरबारमा मंगलबार भएको भेटमा नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

उनका अनुसार भेटमा सभामुख घिमिरेले नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष भएको स्मरण गर्दै दुई देशबीच जनस्तरको सम्बन्ध रहेको उल्लेख गरे । 

‘हामीबीच सरकार–सरकारमात्र होइन, जनस्तरमा रहेको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिँदै आएको छ,’ सभामुख घिमिरेले भने । उनले फ्रान्सेली क्रान्तिले ल्याएको परिवर्तन नेपालका लागि प्रेरणादायी रहेको बताए ।

‘फ्रान्सेली क्रान्तिको आधारभूत मान्यताहरु स्वतन्त्रता, समानता र भ्रातृत्व नेपाली राजनीतिक आन्दोलनमा प्रेरणाको स्रोतको रुपमा रहेका छन्,’ उनले भने। 

सभामुख घिमिरेले नेपाल र फ्रान्स संयुक्त राष्ट्रसंघ लगायतका साझा मञ्चहरुमा एक साथ रहेको स्मरण गर्दै लोकतन्त्रको सुदृढीकरण र सबलीकरणमा अनुभव आदान प्रदान भइरहने विश्वास व्यक्त गरे । 

जवाफमा राजदूत गिल्स बोरबाओले नेपालले पनि फ्रान्सले जस्तै द्वन्द्वलाई लोकतान्त्रिक विधिबाट हल गर्दै विकासलाई अगाडि बढाएकोमा खुसी व्यक्त गरे। उनले आगामी वर्षदेखि आफ्नो मुलुकबाट कोभिड अगाडिकै अवस्थामा पर्यटन आगमन वृद्धि हुने विश्वास व्यक्र गरे । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ