रमेश थापा
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकाले लिम्बूभाषालाई कामकाजी भाषाको रुपमा कार्यान्वयनमा ल्याएको छ। गाउँपालिकाको १ नं. वडा कार्यालय यासोकले पहिलो पटक लिम्बूभाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गरेको हो । बिहिवार गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले औपचारिक रुपमै उद्घाटन गरेसंगै लिम्बूभाषा कामकाजी भाषाको रुपमा प्रयोगमा आएको हो।
वडाले स्थानीय सरकार गठन भएदेखीनै मातृभाषाको संबैधानिक अधिकार कार्यान्वयन गर्न र गराउन प्रयास गर्दै आएको थियो। वडाले याक्थुङ÷लिम्बूभाषा र सिरिजङ्गा लिपिलाई सरकारी कामकाजको भाषा लागू गर्ने सम्बन्धि परामर्श कार्यक्रम गरेको थियो। गाउँपालिकाले २०८० असार १० को १४ औं गाउँसभाबाट सरकारी कामकाजको भाषा ऐन, २०८० सर्वसम्मत पारित गरेको थियो ।
गाउँसभाबाट पारित गरेको ऐन कार्यान्वयन गर्न असार २५ गते बसेको २६ औं कार्यपालिका बैठकबाट “सरकारी कामकाजको भाषा कार्यविधि, २०८०“ सर्वसम्मत पारित गरेको थियो । वडाले आवश्यक सबै प्रकृया पुरा गरी औपचारिक रुपमा लिम्बूभाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए। सेवाग्राहीले आफ्नो इच्छा अनुसार याक्थुङ÷लिम्बूभाषा वा अन्य भाषामा वडाबाट सेवा लिन सक्ने अध्यक्ष लावतीको भनाइ छ ।

.png)