Comments Add Comment

फाल्गुनन्दको कृषक प्रोत्साहन कार्यक्रम, बढि धान उत्पादन गर्नेलाई पुरस्कृत गर्ने

दिपक दुलाल,
फाल्गुनन्द-पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धेरै धान फलाउने कृषकहरुलाई पुरस्कृत गर्ने भएको छ। गाउँपालिकाको धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यन्वयन कार्यविधि २०८० बमोजिम गाउँपालिका भित्र धान खेती गरिरहेका कृषकहरुलाई उत्पादनका आधारमा पुरस्कृत गर्ने भएको हो ।
धान खेती गरिरहेका कृषकहरुलाई थप उत्पादन बृद्धि गर्नका लागि प्रोत्साहन दिने उद्धेश्यले १ सय मुरी भन्दा बढी धान उत्पादन गर्ने कृषकहरुलाई ५० हजार र ५० देखि १ सय मुरी उत्पादन गर्ने कृषकलाई ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ।
फाल्गुनन्द गाउँपालिकाले पालिकाभित्रका धेरै धान फलाउने कृषकहरुलाई आवश्यक कागजात सहित पुरस्कार लिन आउन आग्रह गरेको छ। पुरस्कार प्राप्त गर्नका लागि कार्यविधिमा तोकिएको मापदण्ड बमोजिम योग्य कृषकहरुलाई मंसिर १४ गते सम्ममा फाल्गुनन्द गाउँपालिकाको कार्यलयमा  निवेदन पेश गर्न गाउँपालिकाले सार्वजानिक सूचना मार्फत जानकारी गराएको हो।
 मापदण्ड अनुसार धान फलाउने योग्य कृषकहरुबाट पुरस्कारका लागि निवेदन प्राप्त भएपछि गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुले अनुगमन गरेर पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले बताए।
गाउँपालिकाले गत असारमा नै धेरै धान उत्पादन गर्ने कृषकहरुलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो। २०८० असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा नवमीडाँडामा आयोजना भएको रोपाइँ कार्यक्रममा गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले यो वर्षदेखि धेरै धान फलाउने कृषकहरुलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए।
पछिल्लो समय कृषि कर्मप्रतिको आकर्षण घट्दै गइरहेको अवस्थामा कृषकहरुलाई व्यवसायिक खेतीमा आकर्षण बढाउदै खाद्यन्यमा आत्मनिर्भर बनाउँने उद्धेश्यले धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कृत कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेको भनाइ छ। 
फाल्गुनन्द गाउँपालिकाका सबै वडामा धान उत्पादन हुदै आएको छ। गाउँपालिकाको धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमले फाल्गुनन्द गाउँपालिकाका कृषकहरुलाई धान उत्पादनमा प्रेरित गर्दे थप उर्जा र प्रोत्साहन समेत मिलेको छ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ