पोखरा, २८ मंसिर । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको नेतृत्व आफूले गर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभुत विद्यालयको हीरक महोत्सवको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले घुमाउरोशैलीमा सरकारको नेतृत्व आफूले गर्ने बताएका हुन् । ‘चुनावपछि पहिलोपटक म आफ्नै जन्मभूमिको क,ख पढेको विद्यालयमा सार्वजनिक कार्यक्रममा उपस्थित छु । तपाईंहरूको आशिर्वाद लाग्यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु,’ प्रचण्डले भने । 
आफू प्रधानमन्त्री भएमा भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य काम गर्ने र आर्थिक क्रान्तिको अभियान चलाउने बताउँदै प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण देश विकासको निम्ति अनिवार्य सर्त छ । ४७ सालदेखि यताका राजनीतिक नेतृत्वमा रहेका विशिष्ट व्यक्तिहरु र सरकारमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गरेर उनीहरुले भ्रष्टाचार गरेको देखियो भने कडा कारबाहीबाट अगाडि बढ्नुपर्दछ ।’
यसका लागि भएका श्रोत साधन व्यापक परिचालन गरेर काम गरेर देखाउने बताएका प्रचण्ड भन्छन्, ‘म प्रधानमन्त्री बन्दा केही अविष्मरणीय काम गरेर देखाउनेछु ।’
.png)