फिदिम । फिदिममा जारी प्रथम वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगितामा उपाधिका लागि झापाको बिर्तामोड युनाईटेड क्लब र मोरङको डाँगीहाट फुटबल क्लब भिड्ने भएका छन्।
बिहिबार फाइनल खेलको समिकरण पुरा भएसँगै उपाधि कब्जाका लागि झापा र मोरङ भिड्ने निश्चित भएको हो। फिदिम माविको मैदानमा बिहिबार भएको सेमी फाइनलको अन्तिम खेलमा ताप्लेजुङको कर्ण सिंह सोनाम स्मृति क्लबलाई २–१ गोलले पराजित गर्दै झापा फाइनल प्रवेश गरेको हो। बुधबार भएको सेमी फाइनलको पहिलो खेलमा आयोजक पाँचथर क्लबलाई टाईब्रेकरमा ४–१ गोलले हराउँदै मोरङले फाइनलको स्थान बनाएको छ। झापाको जितका लागि रोमन भुजेल र प्रदिप बुढाथोकीले एक÷एक गोल गरे। ताप्लेजुङको सात्वनाका लागि दिपेश लिम्बूले गोल गरेका थिए। खेल सुरु भएको आठ मिनेटमा ताप्लेजुङका दिपेशले सुरुवाती गोल गरेका थिए। ३१ औं मिनेटमा बिर्तामोडका रोमन भुजेलले गोल फर्काएर खेललाई बराबरीमा ल्याए । ताप्लेजुङका खेलाडीले डी बक्सभित्र फाउल गरेपछि रोमनले प्यानल्टि किकबाट गोल गरेका थिए ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको इञ्जुरी समयमा झापाका प्रदिप बुढाथोकीले निर्णायक गोल गरेर टिमलाई फाइनलको स्थान दिलाए । दोस्रो हाफमा ताप्लेजुङले निकै आक्रमक खेलेपनि जवाफी गोल गर्न नसक्दा उसले सेमी फाइनलबाटै बाहिरिनुप¥यो । बिहिबारको खेलमा झापाका गोलकर्ता प्रदिप बुढाथोकी म्यान अफ दी म्याच घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादीका कोशी प्रदेश अध्यक्ष हर्क नेम्बाङ (मिक्सो) र आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले पाँच हजार नगद पुरस्कार प्रदान गरे । प्रतियोगिताको बिजेता टिमले चार लाख चार हजार चार सय ४४ रुपैँया र उपविजेता टिमले दुई लाख दुई हजार दुई सय २२ रपैँया प्राप्त गर्नेछ । यो जिल्लाकै सार्बाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता हो ।

.png)