रमेश थापा
पाँचथर ः पाँचथरको फिदिम नगरपालिकाले सबै माध्यमिक विद्यालयहरुमा सीसी क्यामेरा मार्फत निगरानी गर्ने भएको छ । मंगलवार नगरप्रमुख मित्रप्रसाद काफ्लेले एक कार्यक्रमका बीच विद्यालयमा जडान गरिएको सीसी क्यामेराको उद्धघाटन गरेका छन ।
नगरपालिकाले १४ वटा वडाका २० माध्यमिक विद्यालयहरुलाई सीसी क्यामेराबाट निगरानी गर्ने भएको हो । प्रत्येक विद्यालयमा चार वटाका दरले क्यामेरा जडान गरिएको छ । माध्यमिक विद्यालयहरुमा जडित क्यामेराको निगरानी भने फिदिम नगरपालिकाबाट मात्रै गर्न मिल्ने ब्यवस्था मिलाइएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जनाए ।
सीसी क्यामेरा जडान गर्न फिदिम नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा ८ लाख ८५ हजार २४४ रुपैयाँ बजेट बिनियोजिन गरेको थियो । सोही बजेटबाट विद्यालयमा सीसी क्यामेरा जडान गरिएको हो । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यालयमा पठनपाठनलाई ब्यवस्थित र प्रभावकारी बनाउन सीसी क्यामेराको ब्यवस्था गरिएको नगर प्रमुख काफ्लेको भनाइ छ ।
सीसी क्यामेराबाट विद्यालयहरुको निगरानी नगरपालिकाको शिक्षा शाखाबाट हुनेछ । सीसी क्यामेरा उद्धघाटन कार्यक्रममा उपप्रमुख राधाकृष्ण न्यौपाने, प्रमुख प्रसाशकीय अधिकृत बिष्नु प्रसाद सुवेदी, लगायतका वक्ताले सीसी क्यामेराको निगरानीले विद्यालयको शैक्षिक कृयाकलावमा सुधार हुने बताए ।
.png)