रमेश थापा
पाँचथरः पाँचथरको तुम्बेवा गाउँपालिका पहिलो पटक कालोपत्रे सडकले जोडिने भएको छ। तमोर कोरिडोरको लखुवादेखि पालिकाको केन्द्र मौवा बजारसम्मको १४ किलोमिटर सडक कालोपत्रेमा जोडिने भएको हो। सप्तमी, दशमी, ओखरबोटे लखुवादोभान सडक खण्ड अन्तरगर्त पहिलो चरणमा लखुवादोभान–मौवा बजार सडक खण्डको १४ दशमलव ५०५ किलोमिटर सडकमा कालोपत्रेको काम हुदै आएको छ।
प्रदेश सरकारको ४५ करोड, ९० लाख ९८ हजार ३२८ रुपैयाँमा पूर्वाधार विकास कार्यालय पाँचथरले श्री खरिढुंगा गोल्मेधर जेभी भक्तपुरलाई ठेक्का दिएको छ। कालोपत्रेको ठेक्का पाएको निर्माण कम्पनीले २०७९ बैसाख देखि २०८२ बैसाखसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। तीन वर्षमा कालोपत्रेको काम पुरा गर्ने गरी ठेक्का पाएको निर्माण कम्पनीले कालोपत्रेको कामलाई गति दिएको छ। लखुवादोभानदेखि सडक कटिङ, नाली र वाल निर्माण गर्दै आङ्नासम्म पु¥याएको छ।
गाउँपालिका जोड्ने सडक कालोपत्रेमा जोडिने भएपछि स्थानीय उत्साहित बनेका छन। सडक कालोपत्रे भएपछि तमोर कोरिडोर हुदै जिल्ला सदरमुकाम र तराइसंग सिधा सम्पर्क जोडिने तुम्बेवा–१ आङ्नाका गणेश कार्कीले बताए। ‘बखाको समयमा आवत जावत गर्न समस्या थियो। अहिले नाली सहितको ठुलो बाटो निर्माण गरिएको छ। काम धमाधम भइरहेको छ। अब सुःखका दिन आएको अनुभूति भएको कार्कीले भने। आफुले गाउँमा उत्पादन गरेको कृषिजन्य बस्तुको आयत निर्यात गर्न हिउँद बर्खा पनि सहज हुने कार्कीको भनाइ छ। कालोपत्रेको काम गर्दै आएको ठेकेदार कम्पनीले छोटो समयमा राम्रो प्रगति गरेको भन्दै समयमै कालोपत्रेको काम पुरा हुने पूर्वाधार विकास कार्यालय पाँचथर इन्जिनियर टीकाराम लिम्बूले बताए। निर्माण कम्पनीले निर्माण स्थलमा प्रयाप्त जनशक्ति र उपकरणको प्रयोग गरी काम गर्दै आएको छ। उनले भने कार्यालयको तर्फबाट पनि साइटमा प्राविधिक निरन्तर रुपमा खटाएका छौ यस्ले गर्दा सम्झौता मितिमै योजनाको काम सम्पन्न हुन्छ।’
पहिलो पटक पालिका केन्द्रमा जोडिन लागेको सडक भएकाले पनि गाउँपालिकाले महत्वको रुपमा सो सडकलाई लिएको छ। पालिकाको समृद्धिको आधार पनि भएकाले यो सडकको कामलाई प्रभावकारी बनाउन लागि परेको तुम्बेवा गाउँपालिकाले जनाएको छ। केन्द्रको सडक भएकाले महत्वपूर्ण सडक सञ्जालको रुपमा हेरिएको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले बताए । तुम्बेवा गाउँपालिकाबासीको लाइफ लाइनको सडकको रुपमा उक्त सडक भएकाले गुणस्तरको बिषयमा चनाखो भएर निगरानी राखेको भन्दै योजनाको काममा ढिलासुस्ती हुन नदिने उनले बताए। कालोपत्रे सडक बहुवर्षे योजना भएकाले पहिलो खण्डको रुपमा मौवा, आङ्ना हुदै तमोर कोरिडोरको लखुवा दोभानसम्म हुने र दोस्रो खण्डको रुपमा सप्तमी, दसमी हुदै पालिका केन्द्र मौवा बजारसम्म कालोपत्रे हुने खड्काको भनाइ छ।

.png)