Comments Add Comment

संचालनको पर्खाइमा तुम्बेवा सव स्टेशन 

पाँचथर- पाँचथरको तुम्बेवा गाउँपालिकामा संचालित सव स्टेशनको काम अन्तिम चरणमा पुगेको छ। तुम्बेवा-१ मा निर्माणधिन अवस्थामा रहेको सव स्टेसनको काम अन्तिम चरणमा पुगेको हो। १३ रोपनी जग्गामा निमार्ण हुदै आएको सव स्टेशनमा भवन निर्माण, घेराबारा र उपकरण जडानपछि संचालनमा ल्याउन लागेको हो। नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा ३३ केभिएको सव स्टेशनको काम हुदै आएको छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गतको सामुदायिक ग्रामिण विद्युतिकरण विभागले योजनाको काम गर्दै आएको छ।
सरकारले १४ करोड ७ लाख १८ हजारमा वाइवा इन्फ्राटेक प्रा.लि काठमाण्डौंले ठेक्का दिएको थियो। ठेक्का पाएको निर्माण कम्पनीले दुई वर्ष भित्र पूरा गर्ने गरी २०७६ मा योजना सम्झौता गरेको थियो। तर सम्झौता अवधि २०७८ सालको जेठमा सकिएको थियो। त्यसयता ३ पटक म्याद थपेको ठेकेदार कम्पनीले २०८१ बैसाख सम्ममा योजना संचालनमा ल्याउने जनाएको छ। पटक पटक म्याद थपेको ठेकेदार कम्पनीले योजनाको काममा ढिलासुस्ती गरेको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए। कोभिड र निरन्तर वर्षा भएपछि सब स्टेशनको काम ढिला भएको निर्माण कम्पनीका इन्जिनियर फुर्वा तामाङको दावी छ। सम्झौता अवधिमा काम पूरा नभएपनि अब बैशाखमै काम पुरा गर्ने तयारी अगाडी बढाएको उनको दावी छ। 
योजनाको हालसम्मको भौतिक प्रगति ९५ प्रतिशत भएको छ। दक्ष जनशक्ति परिचालन गरी चाँडै योजना हस्तान्त्रण गर्ने निर्माण कम्पनीले जनाएको छ । यता तुम्बेवा गाउँपालिकाले पनि योजनाको निरन्तर अनुगमन र निरिक्षण गर्दै आएको जनाएको छ। गाउँपालिका अध्यक्ष बाबुराम खड्काले लामो समयदेखि योजनाको काममा ढिलासुस्ती भएको भन्दै अब चाँडै योजनाको कामलाई अघि बढाउन पहल गर्ने बताए। निर्माण क्षेत्रमा के कति काम बाँकी छ? त्यो बिषयमा चासो राखेका छौ। यो बिषयमा निर्माण पक्ष र प्राधिकरणसंग आवश्यक समन्वय गरेर योजनाको कामलाई तत्काल संचालनमा ल्याउन पहल र प्रयत्न गर्ने खड्काको भनाइ छ।
सव स्टेशन निर्माणपछि जिल्लाको कुम्मायक, तुम्बेवा, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकाका नागरिक लाभाम्वित हुनेछन। योजना निर्माणको लागि स्थानीय समाजसेवी सहमान कार्कीले १६ लाख मुल्य बराबरको १० रोपनी जग्गा समेत निशुल्क दान गरेका थिए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ