रमेश थापा
पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिकामा कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ। प्रत्येक तीन वर्षमा लाग्ने ऐतिहासिक तङसुम तङनाम त्रिशाली पुजा र मेलाको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो। आयोजक यलम्बर युवा संस्था कुम्मायकले शुक्रबार यासोक बजारको सिम्रिक होटलको सभाहलमा पत्रकार सम्मेलन गरी गोल्डकप सञ्चालन गर्ने जानकारी गराएको हो।
‘पूर्वको सान, कुम्मायकको पहिचान’ भन्ने नारा सहित आयोजक संस्थाले २०८१ बैशाख १६ गतेदेखि गोल्डकप फुटबल प्रतियोगिता सञ्चाल गर्ने भएको छ। प्रतियोगिताको बिजेता टिमले तीन लाख ५५ हजार पाँच सय पचपन्न रुपैँया र उपबिजेता टिमले नगद एक लाख ७७ हजार सात सय ७७ रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच हजार, वेस्ट डिफेण्डर, वेस्ट किपर, सर्बोत्कृष्ठ खेलाडी र सार्वाधिक गोलकर्तालाई जनही आठ हजारको दरले पुरस्कार प्रदान गर्ने र वेस्ट कोचलाई पाँच हजार साथै प्रत्येक दिनको फ्यान अफ दी म्याचलाई समेत हजार रुपैँयाको दरले पुरस्कार प्रदान गर्ने अयोजक संस्थाका अध्यक्ष भिमनारेन लावतीले जनाए।
प्रतियोगितामा आयोजक यलम्बर युवा क्लबसहित वाईवाई पाँचथर फुटबल क्लब, रेडहर्ष इलाम, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, डाँगीहाट एफ सी मोरङ, सीटी फुटबल क्लब सुनसरी, दमक एकेडेमी झापा र पूर्वाञ्चल एपीएफ पकलीले सहभागिता जनाउने लावतीको भनाइ छ। प्रतियोगिता सम्पन्न गर्न ३५ लाख अनुमानित खर्च हुने बताइएको छ। प्रतियोगिको मूख्य प्रायोजक कुम्मायक गाँउपालिका रहेको छ।गाउँपालिकाले गोल्डकप आयोजना गर्न पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। पत्रकार सम्मेलनमा गाँउपालिका अध्यक्ष बम प्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खड्का, कुम्मायक–१ वडाध्यक्ष तथा पालिका प्रवक्ता देबेन्द्रकुमार लावती र कुम्मायक–५ का वडाअध्यक्ष निर्मलराज घिमिरे लगायतको उपस्थिति रहेको थियो।
.png)