मनोज थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा हुने कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। प्रत्येक तीन-तीन वर्षमा लाग्ने ऐतिहासिक तङसुम तङनाम त्रिशाली पुजा एवम् मेलाको अवसरमा यस पटक पनि फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो। आयोजक यलम्बर युवा संस्था कुम्मायकले शनिबार संस्थाको सचिवालय कुम्मायक, पाँचथरमा पत्रकार सम्मेलन गरी गोल्डकपको खेल तालिका सार्बजनिक गरेको हो।
प्रतियोगिताको उद्घाटन खेलमा यालम्बर युवा संस्था (आयोजक) र धरान फुटबल क्लव, धरानवीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ ।
‘पूर्वको सान, कुम्मायकको पहिचान’ भन्ने नारा सहित आयोजक संस्थाले २०८१ बैशाख १६ गतेदेखि गोल्डकप फुटबल प्रतियोगिता सञ्चाल गर्न लागिएको संस्थाका सचिव पूर्ण फेवदिनले जानकारी गराएका छन्। प्रतियोगिताको बिजेता टिमले तीन लाख ५५ हजार पाँच सय पचपन्न रुपैँया र उपबिजेता टिमले नगद एक लाख ७७ हजार सात सय ७७ रुपैँया प्राप्त गर्ने जनाएको छ। प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच हजार, वेस्ट डिफेण्डर, वेस्ट किपर, सर्बोत्कृष्ठ खेलाडी र सार्वाधिक गोलकर्तालाई जनही आठ हजारको दरले पुरस्कार प्रदान गर्ने र वेस्ट कोचलाई पाँच हजार साथै प्रत्येक दिनको फ्यान अफ दी म्याचलाई समेत दुइ हजार रुपैँयाको दरले पुरस्कार प्रदान गर्ने अयोजक संस्थाका अध्यक्ष भिमनारेन लावतीले जनाएका छन्।
प्रतियोगितामा आयोजक यलम्बर युवा क्लबसहित पाँचथर फुटबल क्लब, पाँचथर, रेड हर्ष फुटबल क्लव, इलाम, कर्ण सिं सोनाम एफ.सि. ताप्लेजुङ, डाँगीहाट फुटबल क्लव, बेलबारी, मोरङ, धरान फुटबल क्लव,धरान, दमक एकेडेमी झापा र पूर्वाञ्चल एपीएफ पकली सुनसरीले सहभागिता जनाउने लावतीको भनाइ छ। प्रतियोगिताको तिब्र तयारी भईरहेको र ८० % तयारी पूरा भएको संस्थाका अध्यक्ष लावतीले जनाएका छन् ।
प्रतियोगिता सम्पन्न गर्न ३५ लाख अनुमानित खर्च हुने बताइएको छ। प्रतियोगिको मूख्य प्रायोजक कुम्मायक गाँउपालिका रहेको छ। गाउँपालिकाले गोल्डकप आयोजना गर्न पाँच लाख रुपैयाँ सहयोग गरेको छ। प्रतितोगिताको फाइनल खेल २०८१ बैशाख २२ गते शनिबार हुनेछ ।

.png)