Comments Add Comment

सचिव रेग्मीद्वारा मालपोत कार्यालयको आकस्मिक निरीक्षण

काठमाडौँ, २१ पुस

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयको दैनिक सेवाप्रवाह तथा अभिलेख व्यवस्थापनबारे आकस्मिक निरीक्षण गरी जानकारी लिनुभएको छ ।

 

देशका विभिन्न कार्यालयमध्ये डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयलाई सेवा प्रवाहको दृष्टिले संवेदनशील कार्यालयका रूपमा लिने गरिएको छ। त्यस अवसरमा सचिव डा रेग्मीले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख रामकृष्ण उप्रेती र कर्मचारीलाई सेवाप्रवाह गुनासोरहित, झन्झटमुक्त र पारदर्शी तवरबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

उहाँले भूकम्पले कार्यालयका धेरै भित्ता चर्किएको र सोको तत्काल सुधार गर्न तथा अभिलेख व्यवस्थापनका लागि आवश्यक रकम प्रस्ताव गरी पठाउन सुझाव दिनुभयो । डिल्लीबजार मालपोत कार्यालयमा विभिन्न जिल्लाको जग्गाको ऐतिहासिक तथा प्रामाणिक अभिलेख, ऐतिहासिक अभिलेख तथा पुराना रजिस्ट्रेसन अभिलेख गरी एक लाखभन्दा बढी लिखतसहितका कागजात रहेका छन् ।

देशका सबै मालपोत कार्यालयमा करिब २० लाखको हाराहारीमा यस्ता लिखत अभिलेखहरू रहेको अनुमान गरिएको छ । तत्कालीन बाइसे–चौबिसे राज्य र राणाकालीन प्रमाणका दृष्टिले यी अभिलेखहरू दीर्घकालसम्म सुरक्षित राखिनुपर्ने भए पनि यिनीहरूको विद्युतीय प्रति नहुँदा कागज च्यातिने र हराउने उत्तिकै सम्भावना छ ।

त्यस अवसरमा सचिव डा रेग्मीले यस्ता ऐतिहासक महत्त्वपूर्ण अभिलेखहरूको संरक्षण गर्ने व्यहोरोपयोगी कार्ययोजना तत्काल तयार गरी कार्यान्वयनमा ल्याउन विभाग र मातहतका निकायलाई निर्देशन दिनुभयो । सचिव रेग्मीले विभागको विद्युतीय प्रणालीलाई प्रभावकारी बनाउन र मालपोतको सेवा प्रवाहमा हुन सक्ने अनियमितता रोक्न विद्युतीय प्रणालीको सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले राष्ट्रिय भूमि आयोगको निरीक्षण गरी काम कारबाहीबारे पनि आजै जानकारी लिनुभयो । भूमि आयोगका सदस्य सचिव विदुर खनालले मन्त्रालय र सरकारको लक्ष्य पूरा गर्न र मन्त्रालयको साख बढाउन प्रतिबद्ध रहेको बताउनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ