पाँचथर -दोश्रो अधिवेशनबाट हिलिहाङ गाउँपालिकामा नेकपा (एमाले)को ५४ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ। हिजो बेलुकी सम्पन्न बन्द सत्रबाट सर्वसम्मतिले नयाँ कमिटी निर्वाचित भएको एमाले पाँचथरका प्रचार विभाग प्रमुख तुलसी थापाले जानकारी दिनुभयो।

अधिवेशनबाट कमिटीको अध्यक्षमा सन्तकुमार लिङ्देन (सन्तोष) निर्वाचित हुनुभएको छ। उहाँ यसअघि अधिवेशन आयोजक कमिटीको सहसंयोजक हुनुहुन्थ्यो। नवनिर्वाचित कमिटीको उपाध्यक्षमा लक्ष्मीप्रसाद भण्डारी, सचिवमा भीमप्रसाद हेम्ब्या र उपसचिवद्वयमा वीरेन्द्र मंग्राती र रेशा रिजाल निर्वाचित हुनुभएको छ।
गत वर्ष भएको गाउँपालिका अधिवेशनबाट एमालेले सबै स्थानीय तहमा नयाँ कमिटी निर्वाचित गरेको थियो। तर गत स्थानीय तह निर्वाचनमा हिलिहाङ गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार पराजित भएपछि जिल्ला कमिटीले गाउँपालिका कमिटी भङ्ग गरेको थियो।
त्यसपछि भएको भेलाले अधिवेशन आयोजक कमिटी गठन गरेको थियो। सोही कमिटीले अधिवेशनमार्फत नयाँ कमिटी निर्वाचित गरेको एमाले पाँचथरले जनाएको छ।
अधिवेशन हिजो नै सुरु भएको थियो । अधिवेशनको एमाले पाँचथर जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारीले उद्घाटन गर्नुभएको थियो । अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले पाँचथर जिल्ला कमिटी सचिव विष्णुप्रसाद सापकोटा, उपसचिवद्वय नरबहादुर गुरुङ र पृथ्वी लावती, नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषदका अध्यक्ष भुवानीप्रसाद लिङदेन सहितका नेताहरुको उपस्थिति थियो ।

.png)