काठमाडौं, २५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरको समाप्तिमा २४५ रन जोड्दै अलआउट भयो । योसँगै नेपाल ५२ रनले विजयी भएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ बल बाँकी छँदा अलआउट हुँदै २९७ रन जोडेको थियो । यो स्कोर एक दिवसीय क्रिकेट इतिहासमा नेपालको अहिलेसम्मकै उच्च हो ।
नेपालका लागि सर्वाधिक आसिफ शेखले ११० रन जोड्दा कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४ र रोहित पौडेलले ३० रनको योगदान गरेका थिए ।
पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप सापकोटाले ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए।
.png)