Comments Add Comment

पाँचथरमा छैठौं चौंरी पर्यटन महोत्सव हुने

रमेश थापा 
पाँचथर -पाँचथरको फालेलुङ गाउँपालिकामा छैठौं चौंरी पर्यटन महोत्सवको आयोजना हुने भएको छ। सोमवार फिदिममा आयोजित पत्रकार सम्मेलन मार्फत छैठौं चौरी पर्यटन महोत्सव आयोजना हुन लागेको जानकारी गराइएको थियो। फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्था र दीपज्योती युवा क्लबको आयोजनामा महोत्सव हुन लागेको हो।
प्रत्येक नयाँ वर्षको अवसरमा आयोजना हुँदै आएको महोत्सव यो वर्ष पनि लाग्ने भएको हो। महोत्सव जिल्लाको फालेलुङ-४ को चारराते मा आयोजना गर्न लागिएको छ। चैत ३० गतेदेखि वैशाख २ गतेसम्म महोत्सव सञ्चालन गर्ने आयोजकको तयारी छ।

हिमाली क्षेत्रमा पाइने चौंरी गाई र तिनका प्रजातीको संरक्षणसँगै चौंरीजन्य उत्पादनहरुको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले फालेलुङ गाउँपालिकाको प्रवर्द्धनमा २०७४ सालदेखि यो महोत्सव आयोजना हुँदै आएको छ।
यो वर्ष फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्था र दीपज्योती युवा क्लबको आयोजनामा महोत्सव आयोजना हुन लागेको हो। महोत्सवमा पाँच सयभन्दा धेरै चौंरी र याकको प्रदर्शनीसँगै चौंरी र भेडाजन्य उत्पादनका स्टल राखिने आयोजक दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावाले बताए।
स्टलमा चौंरीको दूधबाट निर्मित घिउ, छुर्पी, चीजसँगै रौंबाट निर्माण भएका वस्त्र र हिमाली संस्कृति झल्काउन वस्तु राखिनेछन्।
महोत्सवमा नेपाल सहित भारत, भुटान हुँदै विभिन्न मुलुकका आन्तरिक र बाह्य पर्यटक भित्र्याउने आयोजकले जनाएको छ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ