Comments Add Comment

नक्कली विज्ञापन राखी अनलाइनमार्फत ठगी

काठमाडौँ, २६ चैत :

अनलाइनमा महँगो मूल्यका आइफोन मोबाइल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक विज्ञापन राखेर ठगी गरेको पाइएको छ । यसरी ठगी गर्ने ‘हाम्रो बजार डटकम’ नामक अनलाइनका सञ्चालक हुम्ला घर भई भक्तपुर बस्ने उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । उनले यसरी विज्ञापन पोष्ट गरी त्यसमार्फत सम्पर्कमा आएका व्यक्तिहरुलाई मोबाइलको मूल्य, डेलिभेरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम लाग्ने भनी रकम ठगी गर्ने गरेको खुलेको छ ।

उनले मोबाइल खरिद गरेबापत आफ्नो सम्पर्कमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेका बैंक खाता, इसेवा तथा खल्ती वालेटहरुमा रकम पठाउन लगाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको जानकारी दिनुभयो ।

बीमाबापतको रकम ठगीमा कम्पनीकै कर्मचारी संलग्न

यता वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमाबापत पाउने रकममा ठगी गर्ने बीमा कम्पनीका कर्मचारी पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–४ बुढाथोकीगाउँ बस्ने सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत उमेश बुढाथोकी रहेका छन् ।

प्रहरीले सोही ठगी प्रकरणमा अर्घाखाँची छत्रदेव गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–२६ रानीबारी बस्ने वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा ३६ वर्षीय पशुपति अधिकारीलाई समेत पक्राउ गरी अनुसन्धान थालेको जानकारी गराएको छ । उनीहरुलाई पनि थप अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा बुझाइएको रेग्मीले जानकारी दिनुभयो ।

यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रहेका रामबहादुर तामाङसमेत ६ जनालाई चैत २३ गते काठमाडौँ गोङ्गबुबाट पक्राउ गरिसकेको छ । उनीहरुका साथबाट मृतकको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याडलगायत कागजातहरु बरामद गरिएको छ । ---

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ