Comments Add Comment

कार्यसम्पादन मूल्याङ्कनमा कोशी प्रदेशमा प्रथम बन्यो मैवाखोला गाउँपालिका

ताप्लेजुङ, १० फागुन
कार्यसम्पादन मूल्याङ्कनमा ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम भएको छ । कोशी प्रदेशका १३७ स्थानीय तह मध्ये मैवाखोला गाउँपालिकाले ४८.३१ अंक प्राप्त गरी पहिलो भएको हो । त्यस्तै, पाँचथरको याङ्वरक गाउँपालिका ४८.२६ अंक सहित दोस्रो र भोजपुरको पौवादुङ्मा गाउँपालिका ४६.८७ अंकसहित तेस्रो भएका छन्।
यस्तै, ताप्लेजुङको सिरिजंघा गाउँपालिका ४६.०३ अंक सहित चौथो, सुनसरीको इनरुवा नगरपालिका ४५.३३ अंक सहित पाचौं भएका छन् । इनरुवा नगरपालिका प्रदेशभरका नगरपालिकामध्ये उत्कृष्ट भएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमै पहिलो बनेको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/गरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग गरे/नगरेको जस्ता सूचकहरूका आधार मुल्यांकन गरिएको छ।
त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरू रहेका छन् ।

कार्यसम्पादन_मूल्याङ्कन_वापत_अङ्क_सम्बन्धी_विवरण

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ