रमेश थापा
पाँचथर: पाँचथरको सदरमुकाम फिदिममा चौथो पाँचथर गोल्डकप आयोजना हुने भएको छ। फागुन १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारत सहित आठ टीमको सहभागिता हुने भएको छ।
आयोजक पाँचथर क्लवले फिदिममा पत्रकार सम्मेलन गरेर प्रतियोगितामा सहभागी टीमबारे जानकारी गराएको हो। चौंथो संस्करणको पाँचथर गोल्डकपको उपाधिका लागि आयोजक पाँचथर क्लवसँगै त्रिभुवन आर्मी क्लव काठमाडौ, हिल्स फुटवल एकेडेमी भारत, राइटलेन एजुकेशन बागमती युथ क्लव सर्लाही, पथरी ११ फुटवल क्लव मोरङ, झापा ११, नमोबुद्ध फुटवल क्लव सप्तरी र रेडहर्स फुटवल क्लव इलामले प्रतिश्पर्धा गर्ने आयोजकले जनाएको छ।
फिदिम मा.वि.को खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगद ५ लाख ५ हजार ५५ रुपैंयाँ र उपविजेताले नगद २ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्नेछन्। हरेक खेलको म्यान अफ् दि म्याचलाई नगद ५ हजार रुपैंयाँ र सुटआउट हिरो एक जनालाई २ हजार ५ सय रुपैंयाँ प्रदान गरिने आयोजक पाँचथर क्लवका सचिव योगराज सेढाइले जानकारी दिए।
त्यस्तै प्रतियोगिताको बेष्ट कोच, हाई स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट गोलकिपर र बेष्ट मिडफिल्डरलाई जनही १० हजार रुपैंयाँ, राइजिङ प्लेयर र म्यान अफ् दि टुर्नामेन्टलाई जनही १५ हजार रुपैंयाँ पुरस्कार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष निशान शिवाकोटीले जनाए । प्रतियोगिता सम्पन्न गर्न ९५ लाख रुपैंयाँ लाग्ने अनुमान गरिएको छ।
.png)