Comments Add Comment

औषधि नपाउँदा बिरामी समस्यामा

जाजरकोट, ३ माघ 

जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन्। चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने गरेको छन्।

विगत महिना दिनदेखि बिरामीले फार्मेसीबाट औषधि नपाएको गुनासो गर्दै आएका छन् । फार्मेसीमा औषधिका लागि पुुर्जा लिएर बिरामीका आफन्तहरू आउँछन्, तर यहाँ औषधि नपाएपछि गाली मात्र खानुपरेको फार्मेसीमा काम गर्ने स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य बीमा गरेका बिरामी घरबाट पैसा बोकेर नआउने भएकाले फार्मेसीमा औषधि नपाउँदा झगडा गर्न बसेझैँ हुने गरेको स्वास्थ्यकर्मीले बताउँछन् ।

चिकित्सकले लेखिदिनुभएको औषधि नपाएर निजी मेडिकलमा किन्न बाध्य भएको भेरी नगरपालिका–१ की तली कामीले बताउनुभयो ।

सामान्य ग्यास्ट्रिकको औषधिसमेत नपाएको उहाँले गुनासो गर्नुभयो । त्यस्तै भेरी नगरपालिका–३ का चन्द्रबहादुर बुढाले पनि फार्मेसीबाट औषधि नपाएको बताउनुभयो । “नाममात्रको फार्मेसी भएपछि के गर्नु, औषधि बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

सदरमुकामभन्दा बाहिरका पालिकाबाट सेवा लिन आएका बिरामीलाई समस्या पर्ने गरेको छ । फार्मेसीमा औषधि सकिएको जानकारी सम्बन्धीत निकायलाई गराए पनि औषधि जिल्लामा नआएको जनाइएको छ ।

स्वास्थ्यमा विद्युत् सेवा अवरुद्ध

जिल्ला अस्पतालमा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । ओपिडी, शल्यक्रिया, एक्सरे सेवादेखि ल्याबसम्मका सबै सेवा विद्युत् नहुँदा ठप्प भएका छन् । जेनेरेटर सञ्चालन गरेर सबै उपकरण सञ्चालन गर्दा महँगो पर्ने भएकाले दैनिक अस्पतालमा काम गर्न मुस्किल भएको हो।

विद्युत् प्राधिकरणले ट्रान्सर्फमर जडान गरे पनि वाइरिङ नगर्दा समस्या उत्पन्न भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख अविशेकराज कलुवारले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयले प्राधिकरणलाई रु दुई लाख तिर्नसमेत बाँकी छ । रु १७ लाख रकम खर्चेर अस्पतालमा काम गरे पनि स्वास्थ्यले आफैँले केही पनि काम नगर्दा विद्युत्मा समस्या हुँदै आएको छ । विद्युत्का सामग्री आउँदै गरेको स्वास्थ्यका कार्यालय प्रमुख नवराज कँडेलले दिनुभयो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ